काठमाडौं । राजधानीको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतको आसाम राज्यमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।
उक्त दिन प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। प्रदर्शनका क्रममा उनले प्रहरीमाथि गाडी चलाएको आरोपसमेत लागेको छ। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।
यद्यपि, उनी फरार नभएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए। तर, प्रहरीले उनलाई ट्र्याक गर्न नसकेको भन्दै व्यापक आलोचना भएको थियो।
प्रहरी स्रोतका अनुसार, प्रसाईंको भारततर्फ भागेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरोले उनको ‘लोकेसन’ पत्ता लगाएर निगरानी बढाएको थियो। प्रहरी टोली उनलाई पक्रन नजिक पुगेपछि उनी फेरि स्थान परिवर्तन गर्दै सामाजिक सञ्जाल समेत प्रयोग नगरी लुकेर बसेका थिए। तर, बुधबार उनले फेरि एक भिडियो सार्वजनिक गर्दै आफू असुरक्षित महसुस भएकाले सुरक्षाको कारणले बाहिर नदेखिएको बताएका थिए।
प्रसाईंका परिवारले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेका छन्। तर, परिवारका अनुसार उनी पक्राउ परेका होइनन्, आफैँ सुरक्षाको खोजीमा आसाम प्रहरीसमक्ष पुगेका हुन्।
उनसँगै भागेका केही सहयोगीहरू भने आफैं नेपाल फर्किन लागेका छन्। प्रहरीले भने दुर्गा प्रसाईंलाई अब कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने जनाएको छ।
तीनकुनेमा भएको उग्र प्रदर्शन, ज्यानमारा घटना र सम्पत्ति नोक्सानीका मुख्य योजनाकारका रूपमा चिनिएका प्रसाईंको पक्राउलाई प्रहरीले ठूलो सफलता मानेको छ।
Add Comment