काठमाडौै ।नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसरमा पार्टी नेताहरुलाई सुदूरपश्चिमको परम्परागत शैलीमा सिस्नु लगाएर शुभकामना दिएका छन्।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकमा सहभागी भएका नेताहरुलाई अध्यक्ष ओलीले सुदूरपश्चिमको ‘बिसु पर्व’ मनाउँदै सिस्नु लगाएका हुन्।
अध्यक्षले सबै इन्चार्जहरूलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिएको एमाले सचिव लेखराज भट्टले जानकारी दिए ।
नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ, जहाँ सिस्नु लगाएर पुराना रोगव्याधि टाढा बनाउने र नयाँ वर्ष सुखमय होस् भन्ने विश्वास गरिन्छ।
जहाँ सिस्नु परम्परालाई सुदूरपश्चिममा वर्षभरिका कुरालाई बिर्सिएर सम्बन्ध सुधार्ने प्रतीकको रूपमा लिइने गरिन्छ। त्यसो त एमालेमा पनि अध्यक्षले लगाएको सिस्नुले को को नेता सुध्रिन्छन् त्यो त आगामी दिनमा स्पष्ट हुने नै छ ।
सोमबारको सचिवालय बैठकले पार्टीको ७६ औं स्थापना दिवस वैशाख ९ गते मनाउने र वैशाख ११ गते राजधानीको टुँडिखेलमा शक्ति प्रदर्शन गर्ने तयारीलाई अन्तिम रुप दिएको छ।
त्यस दिन सात जना वरिष्ठ कम्युनिष्ट नेताहरूलाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने र सोही दिन ‘पुराना कम्युनिष्ट नेताहरूको स्मरण पुस्तक’ सार्वजनिक गर्ने पनि एमाले निर्णय गरेको छ।
Add Comment