इलाम । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्र ‘भाइरल’ बन्ने होडमा नेताहरूले जथाभावी अभिव्यक्ति दिन थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
शनिबार इलामको श्रीअन्तुमा आयोजित नेपाली कांग्रेस जिल्ला कार्यसमितिको अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राणाले मिडियामा देखिनुपर्ने लोभमा कतिपय नेताहरूले आफ्नै पार्टीविरुद्ध बोल्ने प्रवृत्ति बढेको बताइन्।
‘मिडियामा भाइरल हुनकै लागि कतिपय नेताहरू पार्टीकै विरोधमा बोलिरहेका छन्,’ मन्त्री राणाले भनिन्, ‘यसले व्यक्तिलाई त कभरेज मिल्छ होला, तर पार्टीको क्षतिमा कति योगदान पुर्याउँछ भन्ने सोच्न जरुरी छ।’
उनले यस्तो प्रवृत्तिले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका कार्यकर्ताहरूमा निराशा पैदा गरिरहेको बताइन्।
सरकारमा रहेरै सरकारविरोधी अभिव्यक्ति दिने प्रवृत्तिप्रति आलोचना
परराष्ट्रमन्त्री राणाले कांग्रेस सरकारमै सहभागी रहे पनि त्यसको विरोध गर्ने धेरैजसो आवाज आफ्नै पार्टीबाट आएको उल्लेख गरिन्। उनले आगामी निर्वाचनतर्फ इङ्गित गर्दै अन्य दलहरू ‘मिसन ८४’ जस्ता योजनासहित अघि बढिरहे पनि कांग्रेसभित्र आपसी विवादले एकताको कमी देखिएको बताइन्।
‘हामीले देशभरका कार्यकर्तालाई एकताबद्ध गरी पार्टीलाई मजबुत बनाउनुपर्ने बेला हो,’ उनले भनिन्, ‘तर हामी उल्टै आपसी खिचातानीमा अल्झिएका छौं।’
पार्टीभित्र छलफलको संस्कार विकास गर्न जोड
उनले पार्टीमा असन्तुष्टि भए त्यसलाई सार्वजनिक रुपमा व्यक्त गर्नुभन्दा पनि आन्तरिक छलफलबाट समाधान खोज्नुपर्ने धारणा राखिन्। ‘पार्टीभित्रको कुरा सार्वजनिक भाषणमार्फत होइन, भित्रै छलफल गरेर समाधान गर्नु उपयुक्त हुन्छ,’ मन्त्री राणाले भनिन्।
महिलाको सशक्त सहभागिता आवश्यक
कांग्रेसमा महिलाहरूको योगदान उल्लेखनीय रहेको बताउँदै उनले महिलाले पार्टीमा अझ सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। ‘म आफैंले पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइको सामना गर्नुपर्यो भन्ने तपाईंहरूले देख्नुभएको छ,’ उनले भनिन्, ‘महिलाले नेतृत्वका लागि अझ अग्रसर हुनुपर्छ।’
इलामको विकासमा सरकारको साथ रहने आश्वासन
कार्यक्रममा कोशी प्रदेश कांग्रेस सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले जिल्लाको विकासका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएपछि मन्त्री राणाले आफूले सक्दो पहल गर्ने आश्वासन दिइन्।
Add Comment