प्रमुख तीन शीर्ष नेताबीच भेटवार्ता, संक्रमणकालीन न्यायका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ र प्रमुख विपक्षी दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी उक्त छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषय प्रमुख एजेन्डाको रूपमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।

गत चैत ११ गते  तीनै शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न पुनः सिफारिस समिति गठन गर्ने सहमति भएको थियो।

जसअनुसार पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की, मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्यका रूपमा रहेका छन्।

तीन दलबीच समितिको भूमिका, आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया तथा संक्रमणकालीन न्यायसम्बन्धी अन्य जटिल पक्षहरूमाथि समेत छलफल भएको जनाएको छ।

ताजा अपडेट