बाँकेमा मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं ।बाँकेमा मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जनालाई गत आइतवार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी ठेगाना भएका ३५ वर्षीय राम बहादुर थापा, नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्क बस्ने जुल्ला चन्दनाथ नगरपालिका-११ कालिखोली घर भएका ३१ वर्षीय धिरेन्द्र विक्रम शाही, दाङ गढवा गाउँपालिका-४ खड्कपुर ठेगाना भएका समिर भन्ने २८ वर्षीय ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री गाउँपालिका-१ पाङ ठेगाना भएका २८ वर्षीय छविलाल पुन मगर, रोल्पा लुग्री गाउँपालिका-५ गुम्चाल ठेगाना भएका २४ वर्षीय नवराज रोका क्षेत्री र बाँके नेपालगन्ज उपमहानगरपालिका-१० सुगन्धटोल ठेगाना भएका २८ वर्षीय रंजित शर्मा रहेका छन् ।

यही माघ ५ गते नेपालगन्ज उपमहानगरपालिका-१८ स्थित क्लाउड-९ रेष्ट्रो एण्ड डान्स बारको पार्किङबाट सोही उपमहानगरपालिका-२० बस्ने प्रतिक गुरुङको भे१० प ३५०६ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुको पहिचान गरी पक्राउ गरेको हो ।

उनीहरुले हालसम्म जिल्लाका विभिन्न स्थानबाट ११ वटा मोटरसाइकल चोरी गरेकोमा हाल लु३९ प २८६६, २ रा ४ प ४५५०, रा५ प ६२३३, लु४५ प ८९२८, रा५ प ३२३ र बा३६ प ५९४ नम्बरको समेत गरी ६ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।