पानी भरेर मेलम्ची सुरुङमार्गको परीक्षण गरिँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको आज परीक्षण गरिँदै छ।
मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।

सुरुङ निर्माणको सम्पूर्ण काम पूरा भइसकेकोले पनि पानी हालेर परीक्षण गरिन लागेको खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले बताएको हो ।

आजदेखि पानी भरेर आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम गर्ने मन्त्रालयले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए अनुसार उक्त कार्यक्रममा खानेपानीमन्त्री मणि थापा पनि सहभागी हुनेछन् ।

पन्तका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने छ।

गत वर्ष असारमा सुरुङमा पानी भनेर परीक्षण गर्दा सुरुङको गेट फुटेर दुर्घटना भएको थियो। घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको मृत्यु भएको थियो। चालकको शव अझै फेला परेको छैन।

गत वर्षको जस्तो दुर्घटना नहोस् भनेर यसपालि विशेष सतर्कता अपनाइएको छ।