यङ्गुनमा । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।
एक चिकित्सकले नाम नबताउने शर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।
म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन् । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरू र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ ।
Add Comment