२४ हजार घुस लिएको भन्दै मालपोतका अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ गरेको छ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताएका छन्।

जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजाघरबाट बिहीबार दिउँसो करिब २ बजे उनलाई नियन्त्रणमा लिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । शाखा अधिकृत जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।