भक्तपुरको मम रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते

भक्तपुर । भक्तपुरको मम रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर विस्फोट भएको हो ।

प्रहरीका अनुसार खाजा पसलका सञ्चालक, कर्मचारी र खाजा खान आएका ग्राहकसमेत घाइते भएका छन् ।

घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौँ कोटेश्वरका ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको पठाइएको छ।

त्यसैगरी खाजा खान आएका झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका छन् ।

उनीहरुलाई पनि मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमै पठाइएको प्रहरीले जनाएको छ ।