शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक अनुप बास्तोला भन्छन् कोरोनाको अवस्था निकै डरलाग्दो

काठमाडौं । गत चैत ११ गतेबाट सरकारल कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि लकडाउन गरेको थियो । त्यस बेला त्यही शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना कोरोना संक्रमित फेला पर्दा सरकार निकै तातेको थियो फलस्वरुप एसईई परिक्षा समेत रोकेर लकडाउन गर्न सफल भयो ।

तर, अहिले कोरोनाको अवस्था जटिल वन्दै गईरहेको छ । संक्रमणको अवस्था र मृत्यु हुनेको संख्या बढ्दै जाँदा सरकार आफै शक्ति प्रर्दशन गर्दै हिडिरहेको छ । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर भने झै वर्तमान सरकार कोरोना संक्रमण न्यूनिकरण गर्न लागि परेको देखिँदैन ।
यस्तै अवस्था रहँदै जाने हो भने नेपालमा संक्रमणले भयावह रुप लिन सक्ने भन्दै नेपालमा कोरोना संक्रमण देखिएसँग आजसम्म पनि निरन्तर कोरोना संक्रमित नागरिकको उपचारमा संलग्न चिकित्सक अनुपा बास्तोलाले सामाजिक सञ्जाल मार्फत कोरोना भयावह वन्दै गईरहेको तथ्य सार्वजनिक गरेका छन् ।

उनले अहिलेको अवस्था निकै डरलाग्दो भएको उनको फेसवुक पेजमार्फत आम नागरिकलाई सचेत हुन समेत आग्रह गरेका छन् । (डा अनुप वास्तोलाले नागरिकहरुलाई सचेत गराउने फेसवुक उल्लेख गरेको शब्दहरु जस्ताको त्यस्तै ) यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं(हामी सचेत र चनाखो हुँदैनौं ।

मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्थारु जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं ।

हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो । संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।

तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । ूचेन ब्रेकू नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।

कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँकहाँ चुक्यौं ।