घरमै स्वाब संकलन गर्न मन भए थप पाँच सय शुल्क तिराैं

काठमाण्डौं । थप पाँच सय रुपैयाँ शुल्क तिरे  पीसीआर परीक्षण घरमै  हुनसक्ने भएकाे छ । थप शुल्क तिरिदिने हाे भने स्वास्थ्यकर्मीले घरमै  पुगेर स्वाब सङ्कलन गरिदने भएका छन् । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराएका हुन् । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उनले बताए।

यसैबीच प्रवक्ता गौतमले देशभरका अस्पतालमा क्षमताभन्दा बाहिर गएर उपचार चलिरहेको पनि बताएका छन् । कोरोनाले आफ्नो र पराई भनेर कसैलाई नछुट्याउने भन्दै उनले अनिवार्य स्वास्थ्यका मापदण्ड पालन आग्रह गरेका छन् ।  यसले स्वास्थ्य जाेखिम बढाउने पनि उनकाे दाबी छ ।

यस्तै सरकारले बिहीवार (भोलि) सम्ममा कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभर चार हजार भाइल आइपुग्ने जनाएको छ । मङ्गलवार (हिजो) तीन हजार भाइल उपलब्ध भएको र दुई दिन अघिसम्म एक लाख २५ हजार भाइल प्राप्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।