लखनऊकाे एक अक्सीजन प्लान्टमा विस्फाेट

काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनऊमा बुधबार अक्सीजन प्लान्टमा विस्फाेट भएकाे छ ।देवा रोडस्थित केटी अक्सिजन प्लान्टमा विस्फाेट भएकाे भारतीय समाचारहरूमा जनाइएकाे छ । साे घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको  पनि भारतीय समाचारहारूमा बताइएकाे छ । घटनामा परी सात जना घाइते भएका छन् ।

समयमै प्रहरी र उद्धार टोली घटनास्थल पुगेपछि घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एसीपी विभूतिखण्ड प्रवीण मलिकका अनुसार रिफिलिङका बेला अक्सिजन लिक हुँदा प्लान्टमा ब्लास्ट भएको थियो । मृतकमध्ये एक जना प्लान्टका कर्मचारी हुन् भने अरु दुई जना रिफिलिङका लागि आएका व्यक्ति हुन् । प्रहरीले उक्त घटना जाँच गरिरहेको छ । दुर्घटनाका बेला प्लान्टबाहिर सैयौं मानिसको भीड थियो । सबै मानिसहरु सिलिन्डरमा अक्सिजन भराउन आएका थिए । ब्लास्ट हुनेबित्तिकै नजिकै अक्सिजन भराइरहेका युवकको हात चुडिँएर हावामा उडेको थियो । नजिकै रहेका अन्य सातजना पनि गम्भीर घाइते भएका छन् ।