जसपा र कांग्रेस चुनावमा जाने मनस्थितिमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँगकाे भेटमा चुनावमा जाने निष्कर्षमा  पुगेका छन् । कांग्रेस पनि चुनावकै बाटाेमा जान चाहेकाे देउवाले दुबै नेतालाई डेढ घण्टा लामाे छलफलमा बताए । कांग्रेसले चुनावकाे बाटाे लिने र जसपाकाे माग पनि त्यही भएकाे बैठकाे निष्कर्ष थियाे । देउवा भेट्न विहान बुढानिलकण्ठ पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा जसपाको पोजिसनबारे जानकारीसमेत गराए। ओलीले भोलि विश्वासको मत लिँदैछन्।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बैठकको पूर्वसन्ध्यामा बुढानिलकण्ठ पुगेका अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको लिन लागेको विश्वासको मतको सन्दर्भमा जसपा तटस्थ बस्ने जानकारी गराएको ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी दिए। अविश्वासको प्रस्ताव पनि ल्याउन्न। विश्वासको मत पनि दिन्न भन्नुको अर्थ कांग्रेस चुनावतिरै जाने देखियो,’ झाले भने, ‘एमाले इन्ट्याक्ट (अक्षुण्ण) नहुने अवस्थामा हाम्रो मुद्दा मामिलाको सन्दर्भमा कैयौ चुनौती भएको हुनाले हामी तटस्थकै लाइनमा जान्छौं भनेर हाम्रो पार्टीले निर्णय गर्छ भन्ने कुरा देउवालाई जानकारी गराउनुभयो।’

झाका अनुसार आजको बैठकले तटस्थताको निर्णय लिने जानकारी ठाकुरले देउवालाई गराएका थिए। ‘उपेन्द्र यादव र बाबुराम भट्टराईले भनेजस्तो स्थिति नरहेको र जसपा तटस्थ लाइनमा बस्छ,’ ठाकुरको भनाई उद्धृत गर्दै झाले भने। झाले सकेसम्म तटस्थताका लागि सर्वसम्मत निर्णय गराउने नभए बहुमतबाट यो निर्णय हुने बताए। पार्टीको विपक्षको निर्णयमा १० जना पनि नहुने उनको दावी छ। मुद्दा मामिला सम्बोधन र अलग धार देखाउन पनि जसपा तटस्थ बस्ने झाले बताए।

भेटमा ठाकुरले जसपा तटस्थ बस्दा वैकल्पिक सरकार निर्माणको सम्भावना नहुनेतर्फ पनि देउवाको ध्यानाकर्षण गराएका थिए।  विश्वासको मत लिने घोषणालगत्तै यसअघि देउवासँग यस विषयमा छलफलका लागि प्रधानमन्त्री ओली नेताहरुका साथ पुगेका थिए। त्यसैगरी एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढानिलकण्ठ पुगेर देउवासँग सम्वाद गरिसकेका छन्। प्रचण्डसँगको सम्वादमा पनि देश चुनावतिर जानसक्ने विषयमा छलफल भएको थियो।