रुपन्देही कांग्रेस कार्यालय पनि अस्थाई कोभिड अस्पताल

रूपन्देही । नेपाली कांग्रेस जिल्ला समिति रूपन्देहीले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणका लागि दिने भएको छ । कोरोना महामारीको दोस्रो चरण समुदाय स्तरमै फैलिइरहेको र अस्पतालमा बिरामीका लागि बेड अभाव भएपछि आइसोलेसनका लागि कार्यालय उपलब्ध गराउन लागेको कांग्रेसले जनाएको छ ।

भैरहवास्थित भीम अस्पतालको पछाडि रहेको कांग्रेसको जिल्ला कार्यालयमा २ वटा हल, ११ वटा कोठासहितको २ तले कम्पाउन्डसहितको भवन छ । उक्त भवनमा आइसोलेसन निर्माणका लागि स्थानीय तह, प्रदेश, केन्द्र सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहे तत्काल प्रयोग गर्न दिइने रूपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकले बताए ।कोभिडका बिरामीलाई उपचारका लागि बेडको समस्या नहोस् भन्ने उद्देश्यले पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ ।