कोभिड संक्रमणको संकेत देखिए वा संक्रमण भएमा नलुकाउन मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमणको संकेत देखिएका र कोभिड संक्रमण भएका व्यक्तिहरु समेत खुल्लम खुल्ला बजार घुम्न थालेको गुनासो बढेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

कोभिड संक्रमण बढ्न नदिनका लागि सरकारले बैशाख १६ गतेदेखि उपत्यकामा निशेधाज्ञा जारी गरेको र जनताको दैनिकी सहज बनाउन विहान ५ बजेदेखि ९ बजेसम्म बजार खुल्ला गरेको समयमा कोभिड संक्रमणको संकेत देखिएका र कोभिड संक्रमितहरु समेत बजारमा निस्किने गरेको गुनासो बढ्न थालेपछि मेयर शाक्यले प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो नगर्न आग्रह गरेका हुन् ।

मेयर शाक्यद्धारा जारी अपिलमा भनिएको छ, विहानी समय बजार खुल्ला हुँदा कोभिड संक्रमणको लक्षण देखा परेका र कोभिड संक्रमण पोजेटिभ भएका व्यक्तिहरु समेत आईसोलेसनमा नबसी बजारमा जाने, संक्रमणको लक्षण देखिँदा र संक्रमण देखापरिसकेपछि पनि लुकाउने गरेको गुनासो बढ्न थालेको छ । त्यसो गर्दा झन् कोभिड संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाई तथादिदी बहिनीहरुमा आग्रह गर्दछु ।’

साथै उनले महानगरपालिकाले निःशुल्क रुपमा पिसिआर परिक्षण गरिरहेको भन्दै कोभिडको लक्षण देखा परेमा तुरुन्दै परिक्षण गराई आइसोलेसनमा बस्न समेत अपिल गरेका छन् । अपिलमा भनिएको छ, ‘ संक्रमित व्यक्तिहरुको स्वास्थ्य सेवाका लागि महानगरपालिका क्षेत्रमा बसोबास गर्ने महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा हटलाईन ११८०, र कोभिडका बिरामीको लागि निःशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कुनै अन्य समस्या भएमा सम्बन्धित वडाका अध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछु । कोरोना संक्रमित व्यक्तिहरु सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप आईसोलसन बस्न र बजारमा नजान समेत आग्रह गर्दछु ।’

पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा बढ्नुको एउटा कारण कोभिडको लक्षण देखिएका व्यक्तिहरुले पिसिआर परिक्षण नगर्नु र कोभिड देखिएका कतिपयले कोभिड लुकाउने प्रयास गरी बजार निस्कनु पनि भएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।