बागलुङमा बिहे भाेज खानु जहर खाएसरह भयाे एक परिवारलाई 

बागलुङ ।   बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनालाई  बिहे भाेज खानु जहर खाएसरह भएकाे छ । बिहेकाे भाेज  खाएकाे एक सातभित्रै  एकै घरका तीन जानकाे काेराेनाले ज्यान लिएपछि यसाे भएकाे हाे । बिहे भाेज खाएकाे  एक हप्ताभित्रै गाउँमा एकै परिवारकाे तीन जनाकाे ज्यान गएपछि स्थानीय त्रसित भएका छन् ।  बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए ।

मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।