भन्छ्यौ कि हे सुन्दरी

के भो देख्छु मुहार भिन्न अघिकोभन्दा कता हो कता
केही छेक्न कि वा लुकाउन भनी लाग्यौ कि जस्तो छ ता
गाला लाल अबीरझैँ छ मुखमा मुस्कान फुस्कन्छ कि
भन्दै यत्न गरेर बन्द गरिएजस्तै छ चर्किन्छ कि ।।
आँखा चाहिँ यता उठाउन निकै गाह्रो भएकोसरि
धेरै यत्न गरी उठे पनि घुमी आवर्त फन्केसरि
घुम्छन् फन्फन फैलिएर इनका नानी बने दोब्बर
तत्कालै अलि लाजसाथ भुइँमै पुग्छन् भई झन् पर ।।
स्वाँ स्वाँ चल्दछ सास सश्वर हुरी सल्लो सुसाएसरि
छाती उठ्तछ माथि फेरि छिनमै फर्कन्छ छिट्टै गरी
केही छोप्न हतारझैँ बल गरी बेर्छ्यौ छिटो ओढनी
ढाक्ने कोशिसमा कपाल मुखमा सर्लक्क झार्याै पनि ।।
कापी देख्तछु सामुमा छ यसका साथै प्रिया लेखनी
केही लेखिसकेर भर्खर बस्यौ भन्दैछ कापी पनि
हेर्दा लेख थियो परन्तु अहिल्यै बुझ्दै नबुझ्ने गरी
के लेख्यौ अनि केर्न हत्पत गर्याै भन्छ्यौ कि हे सुन्दरी ।।
कविता कवि रमेश खकुरेलकाे फेसबुकबाट साभार गरिएकाे हाे ।