मनको यात्रा

बाटो बन्द छ, बन्द छन् घरहरू, संसार नै बन्द छ ।
मेरो चित्त भने प्रसन्न छ, यहाँ आनन्द आनन्द छ ।।
मेरो चिन्तन रोकिँदैन कहिल्यै यो बाहिरी बन्दले ।
हाँस्दै दङ्ग परेर चित्त अहिले घुम्दैछ आनन्दले ।।
*
टिप्दै स्याउ टपक्क टोक्छ कहिले जुम्ला पुगी यो मन ।
फर्की फेरि यतै नियाल्छ कहिले मुस्ताङको यौवन ।।
नाम्चेसम्म पुगी हिमाल चुचुरा हेरेर मुस्काउँछ ।
साना पत्थर याकको बगलमा हानेर जिस्काउँछ ।।
*
यो मेरो मन दौडिएर कहिले पाथीभरा पुग्दछ ।
अग्ला पर्वतमा पुगेर नजिकै भन्ज्याङमा लुक्दछ ।।
प्रातःकाल उठी नुहाउँछ सधैँ वाराणसी घाटमा ।
तारा जून टिपेर बाल्छ घरमा बत्तीहरू रातमा ।।
*
माछा बन्दछ पौडिएर मुगुको रारा पुगी क्यै छिन ।
छाता ओढ्छ गुलाफका कुसुमको पानी परेको दिन ।।
बन्दै कृष्ण बजाइदिन्छ मुरली आएर वृन्दावन ।
बद्रीनाथ गएर ध्यान नगरी मान्दैन मेरो मन ।।
*
केही बेर थकाइ मार्छ, पसिना झार्दै पुगी बाजुरा ।
बन्दै चील उडेर पुग्छ कहिले कैलाशको टाकुरा ।।
फेवाताल पुगेर खिच्छ मनले फोटो नयाँ खालको ।
झन्डा गाड्छ र नाच्न थाल्छ चुचुरो टेकेर सैपालको ।।
*
जप्दै मन्त्र झुकेर पुग्छ कहिले केदारको लेकमा ।
भोकाको घरभित्र पुग्दछ कतै खाना लिई साँझमा ।।
आँखा चिम्म गरी हिँडेपनि कतै ठोकिन्न मेरो मन ।
हावा चल्न नपाउँदा पनि यहाँ रोकिन्न मेरो मन ।।