सजग रहनू, नेत्र पार्नू चनाखा

शिक्षकका बारे
‘गर्छौ ध्यान दिई निरीक्षण भने देखिन्छ जे जे जहाँ
तिम्रो शिक्षक बन्न सक्तछ उही निःस्वार्थसेवी यहाँ’ ।।
हाम्रो दृष्टि भए त सूक्ष्म, गहिरो पाइन्छ शिक्षा लिन
भोगेका अनुभूति छन् गुरुसरि प्रत्यक्ष शिक्षा दिन ।।
उद्देश्यकाबारे
जो देख्छन् सपना भविष्यतिरका सम्भावना योजना
पूरा गर्न अवश्य सक्षम हुनन् उल्लेख्य आयोजना ।।
अग्लो लक्ष्य अठोट जाँगरसितै उत्साहको होस् बल
देखेको सपना सुरक्षित हुने उद्देश्य होस् निर्मल ! ।।
सवारी साधन हाँक्नेबारे
‘जल्ले हाँक्न सक्यो सुरक्षित यहाँ बग्गी तथा वाहन
त्यस्तो सीप भए रहन्छ उसकै नेतृत्वमा साधन’ ।
हाँकेकै भरमा नियन्त्रित भई संयन्त्र जो चल्दछन्
हाँक्नेकै व्यवहारको निपुणता हेरी सबै गल्दछन् ! ।।
दुनियाँकाबारे
‘गर्छौ राम्रा जति पनि यहाँ काम सम्झन्न कोही
होओस् यौटा त्रुटि तर अहो ! झट्ट बिर्सन्न कोही’ ।
शिक्षा यो हो – ‘सजग रहनू, नेत्र पार्नू चनाखा’
स्वार्थी, अन्धोसरि छ दुनियाँ कत्ति देख्तैन आँखा ! ।।
यी श्लाेकहरू कवि पोख्रेलकाे फेसबुकबाट साभार गरिएका हुन् ।

ताजा अपडेट