कोभिड विरुद्धको खोप केन्द्र अनुगमनमा दिनभरै व्यस्त मेयर शाक्य

काठमाडौं । आईतबार टन्टलापुर घाममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासृुन्दर शाक्य कोभिड विरुद्धको खोप केन्द्रहरुमा घुमिरहेका देखिन्थे । खोप केन्द्रमा मेयर शाक्य पुगेपछि कतिपय खोप लगाउने आएकाहरुले त मेयर पनि खोप लगाउन यतै आएछन् भन्ने आशंका पनि गरे ।

तर मेयर शाक्य खोप केन्द्रमा खोप लगाउन पुगेका थिएनन् । उनी त काठमाडौं महानगरपालिका क्षेत्रभित्र कोभिड १९ विरुद्धको भेरोसिल खोपको दोश्रो मात्रा लगाउने अभियान आईतबारबाट काठमाडौंमा शुरु भएसँगै नागरिकहरुले सहज रुपमा खोप लगाउन पाएका छन् कि छैनन् हेर्नका लागि अनुगमनमा निस्किएका थिए ।

मेयर शाक्य पहिलो खोप लगाउने अभियान शुरु हुँदा पनि यसैगरी हरेक खोप केन्द्र पु्गेका थिए । त्यस बेला काठमाडौं महानगरपालिकाले खोप लगाउन जाने जेष्ठ नागरिकहरुलाई बस्न व्यवस्थादेखि पिउने पानीसम्मको व्यवस्था गरेको थियो । त्यसकारण पनि आफ्ना नागरिकहरुले सहज रुपमा खोप लगाउनका लागि आफूले गरेको व्यवस्थाका बारेमा जानकारी लिन मेयर शाक्य महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगी, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई समेतसँगै लिएर दिनभर जस्तै खोप केन्द्र अनुगमन गर्न भ्याए ।

करीव करीव दिनभर नै खोप केन्द्रहरुको अनुगमन पश्चात मेयर शाक्यले भने, ‘खोप केन्द्रलाई व्यवस्थित बनाउन प्रयास गरिएको छ । लाइनमा बस्दा भौतिक दुरी कायम गर्ने, घरबाट निस्कँदै कार्ड लिएर र मास्क लगाएर मात्र खोप केन्द्रमा आउने, भीड नगर्ने जस्ता आधारभूत कुरा सबैतिर पालना गरिएको छ । कुनै कुनै केन्द्रमा अलि लामो लाइन छ ।’

हुन पनि भेरोसिल खोपको दोश्रो मात्र लगाउने आउनेहरुको निकै चाप देखिन्थ्यो । टन्टलापुर घाममा लामै लाम लागेर भएपनि नागरिकहरुले खोप लगाउने काम गरे । अवलोकनका क्रममा देखिएको लामो लाइनका विषयमा शाक्य भन्छन्, ‘तोकिएको दिनमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफूलाई पायक पर्ने खोप केन्द्र जहाँ पनि गएर खोप लगाउन पाउने व्यवस्था गरेका छौँ । त्यसैले खुकुलो गरी खोप लगाउन, भीड र हुलमुल नगर्न मेरो अनुरोध छ । भोलिबाट जो खोप लगाउन जाँदै हुनुहुन्छ उहाँहरुले, खोप केन्द्रलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

‘संक्रमणबाट बच्न पूर्वसतर्कता र सावधानी अपनाउनु हरेक नागरिकको दायित्व हो । हरेक व्यक्तिले यो दायित्व पूरा गरिदिने हो भने अस्पतालमा विरामीको चाप छिट्टै घट्नेछ । विरामी भए पछि उपचार त गर्नै पर्छ । तर, उपचार गर्नु पर्र्ने अवस्था आउनुअघि नै सुरक्षित हुने प्रयास गर्नुपर्छ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरले महामारी नियन्त्रणका लागि आफूहरु शुरुका दिनदेखि नै सक्रिय रहँदै आएको बताए ।