धर्म संकटमा माधव नेपाल

काठमाडौं। एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत मागेपछि नेपाल धर्म संकटमा परेका छन् । यसअघि खिमलाल देवकोटालाई सघाउने भन्दै चुनावी मैदानमा नेपालले नै उतारेका थिए ।  जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बनेका थापाले नेपाल निवासमै पुगेर आफूलाई मत दिलाउन सहयोगको अपेक्षा गरेका छन् ।  थापाले सहयोगको अपेक्षा गरे पनि नेता नेपालले भने कुनै जवाफ दिएका छैनन् ।

पार्टी अध्यक्ष केपी ओलीसँग पानी बाराबारको अवस्थामा हुँदा आफैंले उम्मेदवार उठाएका खिमलाल देवकोटा पनि चुनावी मैदानमै रहेकाले नेपाल धर्मसंकटमा छन् । ओली र नेपालबीचको मनमुटावका कारण विभाजनको मुखमा पुगेको पार्टीलाई रोक्ने प्रयासअन्तर्गत अहिले दुई नेताबीच संवाद खुलाएर विवाद हल गर्न कार्यदलसमेत बनाइएको छ । पार्टी एकताका लागि कार्यदलले समाधानको उपायहरु खोज्न बैठक गरिरहेकै समयमा हुन लागेको यस निर्वाचनमा नेपाल पक्षले ओलीका उम्मेदवार थापालाई सघाउने कि आफैंले उठाएका देवकोटालाई भन्ने प्रश्न उब्जेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नेपालले देवकोटालाई उम्मेदवार बनाएका थिए । देवकोटा पनि एमालेकै समर्थक हुन् ।