बाहिर जाउँ कोरोनाको डर, भित्र जाउँ भने भूकम्पको त्रास

लमजुङ । लमजुङमा पटकपटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । हिजाे बिहान गएको भूकम्पले जिल्लाका धेरै माटाका घरहरू ध्वस्त भएका थिए । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्ने अर्को चुनाैती पनि छँदैछ  । यसबीच लमजुङे जनता बाहिर जाउँ भने कोरोनाको डर भित्र जाउँ भने भूकम्पको त्रास बाँच्ने कसरी भन्ने द्विविधामा छन् ।  लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।  बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो । कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने अस्थिति समेत थिएन । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । यति कुराको मात्र डरले सीमित छैन जिल्लावासी । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । ज्यान जाेगाउन ढोकाकाेबीचमा बस्ने पाे हो कि भन्ने अन्याैल छँदै छ ।