उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ  । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापनभएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ ।

मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ । मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने भएको छ ।

प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको  छैन । प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको छ ।