संसद विघटनको मुद्दामा सडकमा जान पर्दैन : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सडकमा जान नपर्ने बताएका छन् । लाेकतन्त्रमा अदालत नै सर्वोपरि भएकाले सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वाससमेत देउवाले व्यक्त गरे । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिद्वारा मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरिएकाले आफूहरु न्याय खोज्न अदालत पुगेकाे पनि  बताएका छन् । कांग्रेसको नेतृत्वमा  १४९ जना सांसदको हस्ताक्षरसहित  प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपतिले केही सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गरेको प्रति देउवाले असन्तुष्टि पोखे । प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाको तर्क छ ।