एमाले एकता जोगाउने विषयमा युवा नेताहरू सक्रिय

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ । ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विभाजननजिक पुगेको छ । एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरु भएको छ । शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।

ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताले  एकता जोगाउने विषयमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार सोमबार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको छ । ‘कम्युनिस्ट आन्दोलनको जगेर्ना र एकताका लागि हामी गम्भीर छलफलमा छौं,’ सहभागी ती नेताले राजधानीसँग भने, ‘हामी आफंैमा लडेर कोही कसैलाई फाइदा हुँदैन, एमाले ब्युँतिएपछि २ जेठकै अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’ ओली र नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् ।

विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेको थियो । तर, सो कार्यदल निष्क्रिय अवस्थामा छ । नेताहरू कार्यदलमार्फत पार्टी एकता विषयमा छलफल अघि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन् । साथै ओली र नेपालबीच छलफल गराउने प्रयास उनीहरूले गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ । नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को पार्टी नेतृत्व, विधान, कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानमा छ । तर, ओली समूह यसबीच माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता व्यवस्थापन गर्दै अघि बढनुपर्ने अडानमा छ ।

ताजा अपडेट