खाली सिलिन्डर फिर्ता गर्न मन्त्रालयले अनुरोध गरे पनि फिर्ता नहुने यस्तो छ कारण

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई  धेरैभन्दा धेरै मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ ।  मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै  अक्सिजन प्लान्ट वा ट्याङ्कहरू मर्मत जडान जतिसक्दो चाँडो  गरी पूर्ण  क्षमतामा सञ्चालन  हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । यस्ताखाले अनुरोधहरू पहिले पहिले पनि मन्त्रालयले गरे पनि सरकारले स्वास्थ्य सुरक्षा दिन सक्तैन भन्ने अनुभूति भएका जनताले अक्सिजन सिलिन्डर फिर्ता गरिदिने सम्भावना न्यून छ । सरकारले संक्रमितको उपचारमा तदारूकता देखाएको भए संक्रमितले घरमा सिलिन्डर राखिरहने सम्भावना नै रहन्नथ्यो । सरकारकै नियमित भजन गाउने कठपुतलीहरूमा पनि सरकारले स्वास्थ्य सुरक्षा दिन सक्छ भन्ने विश्वास छैन । तसर्थ खाली सिलिन्डर घरघरमा थुप्रिरहेका छन् ।

खाली सिलिन्डर जतिसक्दो  चाँडो  सम्बन्धित उद्योगलाई  उपलब्ध  गराउन विज्ञप्तिमा आग्रह गरिएको भए पनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले मुलुकको विभिन्न   भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन् । जुन फिर्ता हुन सकिरहेको छैन । के विश्वासले फिर्ता गरून् सर्वसाधारण ?  जतिबेला अक्सिजन चाहिएको थियो त्यो बेला विदेशबाट प्राप्त  भएका सिलिन्डरमा सांसदको नाम लेखियो । नजिकका नातेदारका घरमा लगेर लुकाइयो । स्वयंको पैसाले किनेर दिए जस्तो गरी प्रचार गरियो । अप्ठेरो बेलामा पनि विज्ञापन गर्न तम्सिए सांसद र सरकारका कठपुतलीहरू ।    विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने  हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई  अप्ठ्यारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति, संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ  ।’ सरकारसँग थाकेका जनता यस्तो अपिललाई सुन्न सक्ने अवस्थामै छैनन् । नातेदार गुमाएकाहरू सरकारका कुरा पत्याउने अवस्थामा छैनन् ।