बन्दुकधारीहरुले आक्रमण गर्दा  अफगानिस्तानमा पाँच स्वास्थ्यकर्मीको गयो ज्यान

एजेन्सी । बन्दुकधारीहरुले आक्रमण गर्दा  अफगानिस्तानमा पाँच स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको छ ।  पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि  आक्रमण  भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । घटना अफगानको  नानरहर प्रान्तमा भएको हो । सो हमलामा  पाँच जना स्वास्थ्यकर्मीले  ज्यान गुमाउनु परेको हो ।  अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्दुकधारीहरुले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरूमाथि आक्रमण गरेको जानकारी दिए । उनले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताए ।

सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ । अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ । कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो ।