ओलीको इसारामा राष्ट्रपति चलेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गरे।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उनले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाए।

उनले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफूहरु संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत समक्ष पुग्न बाध्य भएको बताए।

उले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने होइन? बहुमत पुर्‍याएर ल्याएपछि, कर्तव्य थियो नियुक्त गर्नुपर्थ्यो। ओलीको कार्यकर्ता जस्तो गरेर काम गर्न मिल्छ राष्ट्रपतिले? त्यसकारण अदालतमा मुद्दा हालेको। संविधानको व्याख्या गर्ने अन्तिम स्थान भनेको अदालत हो। अदालतले संविधानको रक्षा पनि गर्छ।’

सभापति देउवाले प्रधानमन्त्री ओली अधिनायकवादी भएको दाबी गरे। अधिनायकवादी र सर्वसत्तावादी शैलीका ओलीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको टिप्पणी सभापति देउवाले गरे।

उनले, ‘प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी हुन्। प्रधानमन्त्री ओली अधिनायकवादी हुन्। आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे।’