उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने भएको छ। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएका हुन्। 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नु पर्ने लगायतका सुझावहरु दिएको भए पनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उनले बताए।

उपत्यकामा संक्रमणदर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए। निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एकडेढ हप्ता खोल्न नहुने सुझावहरु आएको उनले जानकारी दिए।