माधव कुमारलाई पार्टी अध्यक्ष बनाउने ? यो हुनै सक्तैन : ओली

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेको एकतालाई एउटा अन्तिम अवसर दिने प्रयास भइरहँदा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्रोही पक्षका नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरेपनि पार्टी एकताका लागि काठमाडौँमा ‘डेरा’ जमाएर बसेका गुरुङ नेपाललाई पार्टी अध्यक्ष बनाएर भएपनि एमाले जोगाउनु पर्ने अभियानमा सक्रिय भएका छन्।

विपक्षीसँग मिलेर पार्टी तोड्ने राजनीतिक अपराध नेपालले गरेको निष्कर्ष निकाल्दै ओलीले गुरुङको प्रस्ताव अस्वीकार गरेका थिए, आइतबार बालुवाटारमा आयोजित आफू पक्षीय स्थायी कमिटी बैठकमा। बैठकमा सामेल नेता मणि थापाका अनुसार ओलीले माधवकुमार नेपालले राजनीतिक अपराध गरेकाले उनलाई पार्टी अध्यक्ष स्वीकार गर्न नसक्ने अडान लिएका थिए । ‘वास्तवमा पार्टीका वरिष्ठ नेताले पार्टी हित विपरीत विपक्षीसँग काँध जोड्दा आज पार्टी धरापमा परेको छ। अध्यक्ष ओलीले पनि नेपालले राजनीतिक अपराध गरेकोले त्यो क्षम्य हुन नसक्ने भन्दै उहाँलाई पार्टी अध्यक्षमा स्वीकार गर्न नसकिने अडान लिनु भएको छ,’ थापाले भने ।

नेता गुरुङले नेकपा एमालेको अन्तरद्वन्द्वका कारण आफूसमेत सिकार भएकाले अब पार्टी एकताको विकल्प नभएको सुनाएका थिए। त्यसका लागि नेपाललाई पार्टी अध्यक्ष बनाउन उनले ओलीसमक्ष प्रस्ताव गरेका थिए। यता नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव ठाडै अस्वीकार गरेका ओलीले पछिल्लो पटक गठन गरिएको कमिटी बैठकको नाम परिवर्तन गर्न भने लचकता देखाएका छन् । तर उनले सशर्त आगामी १६ गते एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेका छन्। सर्वोच्च अदालतले उक्त कमिटीको वैधानिकता अस्वीकार गरेपछि ओली केन्द्रीय कमिटी बैठक बोलाउन सहमत भएका छन् ।

तर उनले त्यो कमिटीमा आफूलाई संकटमा साथ दिएका माओवादी पृष्ठभूमिका २३ जना नेताहरुलाई सामेल गराउने तयारी गरिरहेका छन्। त्यसको अर्थ २ जेठकै स्वरुपमा एमाले नफर्कने देखिएको छ। ओलीले पूर्वमाओवादी नेताहरुसहितको कमिटीलाई केन्द्रीय कमिटी भनेमा र त्यसको बैठक बोलाएमा त्यसमा एमाले विद्रोही पक्षका नेताहरु केही अपवादबाहेक सामेल नहुने निश्चित जस्तै छ।