सर्वोच्चमा बहस : पुत्रमोहमा फसेका धृतराष्ट्रको जस्तै अवस्था छ राष्ट्रपतिको

काठमाडौं । अधिवक्ता सतिशकृष्ण खरेलले राष्ट्रपति पुत्रमोहमा फसेका धृतराष्ट्रको जस्तै अवस्थामा रहेको बताएका छन् । उनले राष्ट्रपति संस्थाले निष्पक्ष भएर काम गर्न नसकेको बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै खरेलले यस्तो बताएका हुन्।

राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौँ दर्ता नगरिदिएको तर प्रधानमन्त्री ओलीको निवेदन रातिको समयमा पनि दर्ता गरिएको उनले बताए।

उनले भने, ‘राष्ट्रपति संस्थाले निष्पक्ष भएर काम गर्न सकेन। कसैले संसदको विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौ दर्ता नै नगरिदिने अनि केपी ओलीका निवेदन रातको ९ बजे, ११ बजे पनि स्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरिदिने ? पुत्रमोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो ?’