सांसदपुत्र जेल चलान

विराटनगर । मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश सुदर्शनन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशपछि रबिन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटना भएको ३ दिनपछि मात्रै जेठ २३ मा मोरङ प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । आरोपी पक्षले मृतक परिवारलाई क्षतिपूर्तिस्वरुप ५० हजार भारतीय रुपैयाँ र घाइतेलाई अस्पतालमा लागेको उपचार खर्च दिएर घर पठाइसकेको छ । रबिनविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार जिल्ला अदालत मोरङमा ‘सवारी ज्यान मुद्दा’ को कसुरमा अभियोग दर्ता गराएको थियो।

रबिनले २ वर्ष अगाडि बाग्मती प्रदेशको यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र बनाएको खुलेको छ।दुर्घटना गराएको बेला लाइसेन्स नभेटिए पनि अदालतमा अभियोग बुझाउने बेलामा लाइसेन्स रहेको पत्र फेला परेको हो। रबिनले २०७५ कात्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा लाइसेन्सको ‘हार्डकपी’ नभएपनि लाइसेन्स नम्बर भने उल्लेख गरिएको छ । बाग्मती यातायात व्यवस्था कार्यालयले दिएको पत्र अनुसार रबिनको सवारी चालक अनुमति पत्र नं ०१–०६–००५४२५१९  छ।

‘पक्राउ गर्दा रबिनको साथमा लाइसेन्स भेटिएको थिएन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पछि अनुसन्धान पुरा गर्ने समयमा लाइसेन्स रहेको खुलेको हो। बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बर सहितको पत्र प्राप्त भएको छ। हार्डकपी भने आइपुगेको छैन ।’ रबिन नेपाली काँग्रेसकी प्रदेश १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन्।