प्रधानमन्त्रीको धम्कीले न्यायालय डराउन पर्दैन : देउवा

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा देउवाले यस्तो बताएका हुन् । यसका अतिरिक्त उनले कर्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने बताए ।

उनले भने, ‘ प्रधानमन्त्रीले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरुले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ ।’

देउवाले ओलीको धम्कीबाट कुनैपनि न्यायाधीशहरु नडराउने विश्वास लिएकाे र सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि रहेको पनि बताए । उनले थपे, ‘संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।’