सुजिता मृत्यु प्रकरणका कारण चितवनमा कर्फ्यू

चितवन । चितवनमा सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले गरेको आन्दोलन मत्थर पार्न जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । मृतक भण्डारीको घर नजिकैको पूर्वपश्चिम राजमार्ग खण्डमा कर्फ्यू लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ । आदेशअनुसार आज २२ गते साँझ ७ः३० बजेदेखि २३ गत बेलुकी ७ः३० बजेसम्म कर्फ्यू जारी रहने छ ।
कर्फ्यूका क्रममा लामोदुरीका सवारीसाधन सञ्चालनबाहेक कुनै पनि व्यक्तिले आवातजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृतिबेगर बाहिर निस्किन नपाउने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेशको अवज्ञा गरे गराएमा तत्कालै गिरफ्तारी गरेर १ महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुनसक्ने गरी सूचना जारी गरेका छन् ।