संसदीय दलको नेता बन्न नेपाललाई उनीपक्षीय सांसद्को सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनका सांसदहरुले संसदीय दलको नेता नै बन्न सुझाएका छन् । एमालेको विवाद साम्य नहुने देखेका सांसदहरूले नेपाललाई यस्तो सुझाव दिएका हुन् ।

धेरै अलमलमा नबस्न सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग बुधबार नेता नेपालले छलफल गरेका थिए ।

त्यस क्रममा सांसदहरुले अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् । ‘वारपार गरौं । धेरै अलमल गरेर हुँदैन भन्ने हाम्रो कुरा हो’, सांसद पावर्ती बिशुंखेले भनिन् । पार्टी एकता गरेपनि र नगरेपनि चाँडो टुंग्याउन सुझाव दिएको उनले बताइन् ।सकेसम्म पार्टी एकतालाई प्राथमिकतामा राख्न सुझाव दिएको अर्का सांसद भवानी खापुङले बताए । ‘पार्टी एकता हुन्छ वा हुन्न भन्ने कुरा अध्यक्ष केपी शर्मा ओलीमै भर पर्छ । तर एकता अगाडि हाम्रो शर्त पूरा हुनुपर्छ भन्नेमा एकमत भयौं’, उनले भने ।

सांसदहरुको सुझाव सुनेपछि नेता नेपालले भने अरु नेताहरुसँग पनि कुरा गरेर निर्णय लिने बताए । ‘केन्द्रीय कमिटीमा पनि यसबारे छलफल हुन्छ । सवैको सुझाव सुनिरहेको छु’, नेता नेपालले भने ।

सहभागी सांसदहरुका अनुसार, माधव नेपालले एकता वा विभाजनबारे ठोस कुरा केही पनि राखेनन् । ‘छलफल चलिरहेको छ । तपाईंहरुको सुझाव मानेरै अगाडि बढ्छु भन्नुभएको छ’, सांसद खापुङले भने । नेता नेपालले आफू निकट स्थायी कमिटी, जनसंगठन, सांसद सहित नेताहरु अलगअलग छलफल गरिरहेका छन् ।