मध्यपहाडी राजमार्गमा भ्रष्टाचारको ठहरसहित अख्तियारले गर्यो विशेषमा मुद्दा दर्ता

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना निर्माणका क्रममा सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै अदालतमा मुद्वा दर्ता गराएको हो ।

आयोगले महासंघका अध्यक्ष रवि सिंहसंगै तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको हो । निजहरूलाई जनही ६८ लाख ९३ हजार ७७८ रुपैयाँ दरले बिगो दाबी कायम गरी २ वर्षसम्मको कैद सजाय माग गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दर्ता गरिएको हो ।

अख्तियारका अनुसार उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी ‘भेरिएशन’ हुनपर्ने भन्दा फरक व्यहोराको ‘भेरिएशन’ पेश गरिएको तथा सार्वजनिक खरिद नियमावली अनुसार ‘भेरिएशन’ नगराई,‘इष्टिमेट’ विपरित बिना कुनै निर्णय फिल्डमा काम गरिएको जनाएको छ ।

पुष्पलाल राजमार्ग निर्माणको जिम्मा पाएको महादेव खिम्ती सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंह, तत्कालीन आयोजना प्रमुख विजय चापागाई, इञ्जिनियर दीपक कुमार खडका, सव इञ्जिनियर गजेन्द्र प्रसाद राउत र लेखा अधिकृत दुर्ण प्रसाद फुयालले मिलेर राजमार्ग निर्माणका क्रममा प्रकृया पुरा नगरी आर्थिक अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यस सम्बन्धमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले निर्माण क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा निरन्तर लागेकाले अख्तियारबाट आफूलाई अंकुश लगाउन खोजिएको बताएका छन्। उनले भने,‘९ वर्ष पहिले २ करोडको योजना निर्माण गरेकोमा त्यसको छानबिन गर्दा हामीलाई कुनै धारणा नै राख्न नदिई आरोपी सावित गराउन खोजिएको मात्रै हो।’

२ वर्ष अघि आयोजनाको विषयमा अख्तियारले एक पटक सामान्य बयान लिएको तर आफूले सबै कुरा राख्न नपाएको सिंहको भनाई छ । त्यतिबेला आयोजनाको काम कारवाहीलाई राफसाफ गराउँदा आफूहरुलाई कुनै जानकारी नदिइ एकतर्फी रुपमा गरेको उनको भनाइ  छ । ठूला आयोजनाहरुमा कार्टेलिङ हुने गरेको र आफू महासंघको नेतृत्वमा आएपछि यसमा लबिङ गर्दाको नतिजा व्यहोर्नु परिरहेको उनी बताउँछन्। 

तराईका जिल्ला समेटेर निर्माण गरिएको पूर्व–पश्चिम राजमार्गजस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथरको चियो भञ्ज्याङ्ग (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १ हजार ८७९ किलोमिटर लम्बाईको वैकल्पिक राजमार्ग निर्माण गर्ने उद्देश्यका साथ सरकारको आन्तरिक श्रोतवाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आर्थिक वर्ष २०६४\०६५ देखि मध्य पहाडी राजमार्ग आयोजनाको काम थालनी गरिएको थियो ।

मध्य पहाडी क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सरकारले आर्थिक वर्ष २०६९\०७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी राजमार्ग निर्माणको कामलाई द्रुत बनाएको थियो ।