उपत्यकामा ५० वर्षभन्दा माथिका छुटेका नागरिकलाई आजदेखि खोप

काठमाडौं । काठमाडौँ उपत्यकामा ५० वर्षभन्दा माथिका नागरिकलाई आजदेखि सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिँदैछ। यसअघिको अभियानमा छुटेकालाई खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका नागरिकलाई चीनबाट खरिद गरेर ल्याइएको खोप आजदेखि लगाउन लागिएको हो। 

यसअघिको अभियानमा छुटेका ५० वर्षमाथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, सवारी साधनका चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्ने नागरिकले यो खोप लगाउन पाउनेछन्।

खोप लगाउनको लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। 

खोप लिन चाहने नागरिकले नेपाली नागरिकताको प्रमाणपत्रसहित आफ्नो परिचय खुल्ने कागजात लिएर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ।