भारतीय पक्ष भन्छ, तुइन काटेको नभई कमजोर भएकोले आफैं चुँडिएको हो


नेपालगञ्ज । भारतीय पक्षले तुइन काटेको नभई कमजोर भएकोले आफैं चुँडिएको बताएको छ । एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।

पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, ‘भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जवाफ पठाइएको छ । तुइन तरिसकेपछि युवक आफै चिप्लेर महाकालीमा खसेको दाबी गरिएको छ ।’

यसैगरी भारतीय पक्षले पठाएको जवाफमा घटनापछि युवकको खोजी गर्न नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली तयारी अवस्थामा राखेको समेत जवाफमा उल्लेख छ ।

शुक्रबार बिहान व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी काटेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन् ।