स्वास्थ्य मन्त्रालय भौतिक रुपमा १२ कक्षाको परीक्षा चाहॅदैन

काठठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक रुपमै गर्न लागिएको कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ।’

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले भौतिक रुपमा हुने परीक्षा स्थगित गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको देश सञ्चारसँग बताए। कक्षा १२ को परीक्षा स्थगित भएको हो? भन्ने प्रश्नमा अर्यालले भने, ‘होइन। अहिलेसम्म निर्णय भएको छैन।’

यसअघि अर्यालले महामारीको जोखिमलाई ध्यान दिँदै सम्बन्धित विद्यालयमै परीक्षा गराउने जानकारी दिएका थिए।