छुट्टाछुट्टै संगठन विस्तारको होडमा एमालेको दुवै खेमा

काठमाडौं । तत्काल फुट्ने या जुट्ने दुवै परिस्थिति नबनेपछि नेकपा एमालेका प्रतिद्वन्द्वी एकअर्काविरुद्ध समानान्तर गतिविधिसहित नेता र कार्यकर्ता तानेर आफूपक्षीय संगठन बलियो बनाउने रणनीतितर्फ मोडिएका छन्।

माधवकुमार नेपालको केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने या उनी बराबरको हैसियत र सम्मान आफूले पाउनुपर्ने अडान र ओली नेपाललाई दोस्रो अध्यक्ष मात्रै दिन सक्ने अडानबाट पछि नहट्दा तत्काल पार्टी एकता टरेको दुवै पक्षका प्रायः सबै नेताले दाबी गर्दै आएका छन्।

तर, मिल्न नसकेको अवस्थामा पार्टी फुटको औपचारिक घोषणा गर्न पनि तत्काल उनीहरूले आँट देखाउने संकेत छैन। यस्तो घोषणाले आगामी चुनावको क्षतिको भागीदार दुवै हुनुपर्ने उनीहरूले बुझेका छन्।

हाल जे–जति सार्वजनिक रूपमा गालीगलौज र आरोप लगाए पनि नेपाल र उनीसँगै शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीबाट ननिकाल्ने निष्कर्ष ओलीले निकालिसकेका छन्। त्यसैले पछिल्लो पटक उनीहरूलाई तर्साउने उद्देश्यले मात्रै ओलीले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको कुनै अर्थ नभएको नेपाल पक्षबाट जवाफ आएपछि ओली त्यस विषयलाई तन्काउन चाहेनन्।

बरु, उनले आफूपक्षीय बैठक र भेलालाई युद्धस्तरमा अघि बढाएका छन्। हाल स्थायी कमिटी बैठक चलाइरहेका ओलीले आगामी साउन २४ मा केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

भेला, बैठकलगायत गतिविधिसहित अब उनले नेपाल पक्षका नेता तथा कार्यकर्तालाई आफूतिर तान्ने रणनीति बनाएका छन्। ओलीविरुद्धका आक्रामक गतिविधिमा नेपाल पक्षको पनि उत्तिकै सक्रियता देखिन्छ।

ओलीनिकट नेता महेश बस्नेतले देशसञ्चारसँग भने, ‘अहिले पार्टी फुटको घोषणा गर्न पनि गाह्रो छ। एकता पनि जटिल छ। यी दुवैलाई यथावत् राखेर हामी हाम्रो संगठन बलियो बनाउनेतर्फ लाग्दै छौँ। नेपाल पक्षबाट पनि अधिकांश नेता हामीतिरै आउने संकेत पाइसकेका छौँ। पछि नेपाल र केही नेता चोइटिएर जाँदा हामीलाई त्यति क्षति नपुग्ला।’

अर्कोतिर तत्काल पार्टी फुटको घोषणा गर्दा नेपाल पक्ष सरकारमा जाने भएकाले पनि त्यसलाई रोक्ने रणनीतिमा ओली छन्। नेपाल पार्टी एकता प्रयास जारी रहेको र कानुनी अड्चनका सरकारमा जाने या नजाने भन्नेमा अझै अनिर्णीत छन्।

देउवा र सत्ता साझेदार बन्न तयार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाललाई मनाउन हरेक दिनजसो नेपाल निवास कोटेश्वर पुग्ने गरेका छन् र उनले त्यही मौकामा ओलीले फेरि धोका दिने भएकाले उनको दोस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गर्न दबाब दिइरहेका छन्।

नेपालको प्रतीक्षामा देउवा, प्रचण्डसँगै अर्का सत्ता साझेदार जसपाका नेता उपेन्द्र यादव पनि छन् र मन्त्री भागबण्डाको टुंगो लागेको छैन। नेपाल पक्षका स्थायी कमिटी सदस्य मुकुन्द न्याैपानेले अब ओलीसँग मिल्ने सम्भावना निकै कम भएको बताए।

‘एकताबाट ओली धेरै अघि पुगेका छन्। उनको कार्यशैली र आफ्ना साथीहरूलाई गरिरहेको व्यवहारबाट त्यो स्पष्ट हुन्छ। पछि जे होला अहिले आफ्नो संगठन त बलियो बनाउनै पर्छ,’ न्यौपानले भने।

बालुवाटारबाट निस्केपछि नेपालप्रति आक्रोशित ओलीले उनलाई ‘लाल गद्दार’ को आरोप लगाएका थिए। ओलीको यस्तो अभिव्यक्तिले एकता प्रयासमा दौडधूप गरिरहेका नेताहरूको पाइलामा पनि केही दिन ‘ब्रेक’ लागेको थियो।

पछि फेरि एकताका लागि ओली र नेपालबीच वार्ता गराउने कोसिस गरिरहेका बेला ओलीले नेपाललाई देशद्रोहीको आरोप लगाउँदै उनका लागि पार्टीमा ठाउँ नरहेको सार्वजनिक रूपमा घोषणा गरेका थिए।

यसबाट ओली नेपालसँग अब मिल्न चाहन्नन् भन्ने स्पष्ट भए पनि उनी पार्टी फुटको घोषणा तत्काल नगर्ने योजना बनाएका हुन्। पार्टी फुटको घोषणालाई लम्ब्याएर जति सक्दो धेरै नेपालपक्षीय नेतालाई आफूतिर तान्ने योजनामा ओली लागेका छन्।

उनले नेपाल पक्षका प्रभावशाली नेताहरूलाई लक्ष्य गरी विभिन्न ‘अफर’ गर्न थालेको स्रोतको दाबी छ। पार्टी एकताको विकल्प छैन भन्ने नेपालपक्षीय नेतालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको आफूतिर तान्ने रणनीतिमा ओली लागेको बुझिन्छ।

केन्द्रमा नेपालकै कारण आफू सत्ताबाट बाहिरिनुपरेकाले कम्तीमा प्रदेशमा नेपालपक्षीय नेतालाई मुख्यमन्त्री बनाएर भए पनि एमालेकै सरकार टिकाउने रणनीतिमा ओली जुटेको उनीनिकट एक केन्द्रीय सदस्यले बताएका छन्।

उनका अनुसार खासगरी बाग्मती प्रदेशमा मुख्यमन्त्रीका लागि सुरुदेखि नै दाबेदार अष्टलक्ष्मी शाक्य, प्रदेश १ मा भीम आचार्य र सुदूरपश्चिममा भीम रावललाई मुख्यमन्त्रीको प्रस्ताव गरेर उनीहरूलाई आफूतिर तान्ने रणनीतिमा ओली पुगेका छन्।

तर, यो सफल हुने या नहुनेमा ओली विश्वस्त छैनन् तर अन्तिम प्रयासका रूपमा यसलाई अघि बढाउने उनको रणनीति छ। नेता भीम आचार्यले यस्तो प्रस्ताव आफूलाई नआएको दाबी गरेका छन्।

उनले भने, ‘मुख्यमन्त्री बन्ने या अरु केही हुने भन्नेजस्ता प्रस्ताव आएका छैनन्। हामी पार्टी एकता चाहन्छौँ। एकताका लागि ओलीले महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्छ। नेपालले पनि पार्टी एकताका लागि आफ्ना केही अडान त्याग्नुपर्छ।’ तर, आचार्यले वारपारको स्थितिमा नेपालभन्दा पार्टी नै रोज्नुपर्ने अवस्था आउने संकेत गरे।

उनले भने, ‘हामीले सकेसम्म सबैको सहभागितामा पार्टी फेरि एक होस् भन्ने चाहेका छौँ। त्यसमा नेपालको सहभागिता होस् भन्नेमा प्रयासरत छौँ। वारपारको स्थितिमा हामीले पार्टी नै रोज्नुपर्छ। यो पार्टीमा हाम्रो पनि त्यत्तिकै योगदान र संघर्ष छ।’

नेता अष्टलक्ष्मी शाक्यले पनि आफूलाई मुख्यमन्त्री बन्ने प्रस्ताव ओलीबाट नआएको र त्यसलाई स्विकार्ने अवस्था नरहेको बताइन्। ‘हामीसँग पार्टी एकताको विकल्प छैन। त्यो भन्दैमा जथाभावी सहमति वा सम्झौता गर्ने भन्ने हुन्न,’ उनले भनिन्।