हनी सिंहकी पत्नीले आफूमाथि पतिले कुटपिट गरेको आरोपसहित मुद्दा दर्ता गराइन्

एजेन्सी । भारतीय यापर गायक हनी सिंहमाथि उनकी पत्नीले घरेलू हिंसाको आरोप लगाएकी छन् । उनले यससम्बन्धमा अदालतमा मुद्दा दर्तासमेत गराएकी छन् । उनकी पत्नी शालिनी तलवारले आफ्नो याचिकामा कयौँ आश्चर्यजनक खुलासा गरेकी छन् । शालिनीका अनुसार हनी सिंहलाई करियरमा सफलता मिलेपछि उनी निकै आक्रामक र अशिष्ट बनेका थिए ।

शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पिटेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।

हनी सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ । आफ्नो याचिकामा उनले सासु भूपिन्दर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहको नाम पनि उल्लेख गरेकी छन् । उनी आफ्नो पतिको घरको तर्फबाट भएको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहत माग गरेकी छन् ।

शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ । विभिन्न एजेन्सीको सहयोगमा ।