एम्बाप्पेको रियल मड्रिड जाने सम्भावना कति ?

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एम्बाप्पे रियल मड्रिड जाने सम्भावना बर्करार छ । उनको चर्चा केही वर्षयता नै स्पेनिस महारथी क्लब रियल मड्रिड जाने भनेर गरिएको छ । यता रियल पनि एम्बाप्पे भित्र्याउन लालायित छ ।

लामो समययता नै स्पेन आउने चर्चामा रहेका विश्वकप विजेता एम्बाप्पे अब भने रियल अनुबन्धनको नजिक पुगेका हुन् । स्पेनिस मिडिया मार्काका अनुसार फ्रान्सेली स्ट्राइकर एम्बाप्पे अनुबन्ध गर्ने विषयमा रियल अहिलेसम्मकै नजिक पुगेको छ ।

यसअघि भने पटक–पटक एम्बाप्पे अनुबन्धका लागि ताकेता गरेपनि पिएसजीले नबेच्ने जनाएपछि रियल पछाडि सरेको अवस्था थियो । तर यसपटक भने पिएसजी पनि एम्बाप्पे बेच्ने मनसायमा पुगेको खबरमा उल्लेख गरिएको छ ।

एम्बाप्पेले हालैमात्र पिएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । २२ वर्षीय एम्बाप्पे र पिएसजीबीचको सम्झौता आगामी समरमा सकिँदैछ । आरएमसी मिडियाको रिपोर्टअनुसार पिएसजी ट्रान्सफर विन्डो बन्द हुनुअगावै पिएसजीलाई बेच्ने मनसायमा छ ।

यता, एम्बाप्पे पनि रियलमा आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोको स्थान लिने दाउमा छन् । सन् २०१८ मा रोनाल्डो रियल छोडेर इटालियन क्लब युभेन्टस हानिएपछि उनको स्थान लिनसक्ने खेलाडीको खोजीमा स्पेनिस क्लब पनि छ ।

विगत केही वर्षदेखि रियलले देखेको सपना अब पूरा हुने प्रक्रियामा रहेको खबरमा जनाइएको छ । उसले एम्बाप्पेका लागि सर्वाधिक मूल्य खर्च गर्नसक्ने आँकलन गरिएको छ । एम्बाप्पे र पिएसजीबीचको सम्झौता अब १२ महिनापछि सकिँदै छ ।