काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हामीले एकछत्र राज गर्दा गर्दै अहंकारीहरूले पार्टी फुटाएको बताएका छन् ।
साथै उनले पदीय स्वार्थ र अहंकारका कारण पार्टी विभाजनको तहसम्म पुगेको बताएका छन्।
ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्।
एकीकृत (समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालको कदमतर्फ संकेत गर्दै ओलीले भने, ‘सामान्य अवस्थामा पार्टी अगाडि बढिरहेको बेला केहीको स्वार्थ र अंहकारवश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभयो। उहाँहरू आन्दोलन र पार्टीलाई कमजोर बनाउन लागिराख्नुभएको छ।’
पार्टीभित्रको विवादकै कारण पार्टीको अहिले भूमिका फेरिएको ओलीले बताए। उनले भने, ‘हाम्रो भूमिका फेरिएको छ। हामी सरकारमा थियौँ। देश एउटा आशा र विश्वासका साथ अगाडि बढ्दै थियो। त्यस अवस्थामा हामीसँग दुई तिहाई थियो। ७ मध्ये ६ प्रदेशमा हाम्रो सरकार थियो। स्थानीय तहमा पनि एकछत्र नै थियोँ। हामी समाजवादको बाटोमा थियौँ।’
एमालेको कार्यदिशा र बाटो सही भएको भन्दै ओलीले अन्तिम कित्ताकाटको अवस्थामा पुगेकाहरूलाई फर्किन आग्रह गरे। केही व्यक्तिका स्वार्थको लडाइँकै कारणले केन्द्रीय र प्रदेश सरकार ढलेको ओलीले तर्क गरे।
Add Comment