महोत्तरीको रातो नदीमा आएको बाढीले तटबन्ध भत्काउँदा सयौं घर डुबानमा

महोत्तरी । दुई दिनदेखिको जारी वर्षाले महोत्तरीको रातो नदीमा आएको बाढीले ठाउँ–ठाउँमा तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर बाढी गाउँ पसेपछि बलवा नगरपालिकाको १, ४ र ११ नम्बर वडाका सयौं घर डुबानमा परेको छ ।

बलवा नगरपालिकाका मेयर विनोदकुमार यादवका अनुसार बाढीले भगवतीपुर, रौजा, तिलगढ र बन्चौरीमा तटबन्ध भत्काएको छ । बाढी गाउँ पसेपछि दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । अहिले पनि वर्षा जारी रहेकाले उद्दारमा समस्या भएको उनको भनाइ छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नदीमा आएको बाढी तटबन्ध माथिबाट बग्न थालेको बताए । बाढी गाउँ पसेको जानकारी पाएपछि प्रहरी पठाइएको उनले बताए । डुबानमा परेकाहरुलाई विद्यालय र अन्य सुरक्षित स्थानमा सारिने उनको भनाइ छ ।