नागढुंगा सडक पुनः अवरुद्ध

काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज (सोमबार) बिहानैदेखि पुनः अवरुद्ध भएको छ।

नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँडले जानकारी दिए।

हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको थियो। हिजो पहिरो गएकै ठाउँमा आज बिहान पुनः पहिरो गएको हो। 

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सडकको दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधनको झण्डै चार किमी लाइन लागिसेको छ। 

पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ। पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ।