मन्त्रालयको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) जारी बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

सरकार गठनका लागि  हिजो बिहान र बेलुका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग देउवाले छलफल गरेका थिए। तीन दिनदेखि गठबन्धनका नेताहरुसँग छलफल भइरहे पनि मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलिसकेको छैन।

नयाँ सरकार गठन भएको लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ। हाल कांग्रेसले ७, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने सहमति जुटेको पनि जनाइएको छ।  तर एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालयमा दाबी गरेको छ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ। मन्त्रालयको संख्या पनि धेरै र महत्वपूर्ण मन्त्रालयमा गठबन्धनका सबैजसो दलको दाबी हुँदा मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भएको छ।