आनन्ददेव भट्टको निधनप्रति ओलीले जनाए दुख

काठमाडौं । वरिष्ठ साहित्यकार तथा नेकपा एमालेका नेता आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज निधन भएको छ । प्रगतिवादी साहित्यकार तथा प्राध्यापक भट्ट अल्जाइमर रोगबाट पीडित थिए ।

भट्ट बैतडीबाट नेकपा एमालेको उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचन लडे पनि पराजित भएका थिए । लामो सयम साहित्य,प्राध्यापन र राजनीतिमा संलग्न रहेका उनी पछिल्लो समय भने निष्क्रिय थिए ।

उनको कृति साइँलीमैया,आमा बोलाउँछिन्,९७ साल लगायतका काव्य र खण्डकाब्यहरु नेपाली साहित्यका लागि महत्वपूर्ण निधी हुन् ।


भट्टका श्रीमती र दुई छोरा छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकै सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक भट्टको निधनले पार्टी र प्रगतिशील साहित्यको क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् ।

ओलीले शोक वक्तव्य प्रकाशित गर्दै बैतडीमा एमाले नेतृत्वमा रहेर पार्टीको आधार निर्माणमा भट्टले महत्वपूर्ण योगदान गरेको बनताएका छन् । भट्ट नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य थिए भने प्रगतिशील लेखक संघको पूर्व अध्यक्ष थिए ।