मेसुलाई मोसो दल्ने समातिए

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोदकुमार सिंहलाई मोसो दल्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

डा. सिंहले दिएको किटानी जाहेरीका आधारमा गणेश खड्कालाई प्रहरीले आज तुलसीपुर क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

गत शुक्रबार बिरामीको कल्चर जाँचका विषयमा नेकपा एमालेको विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा केही युवाहरुले डा. सिंहलाई कालोमोसो दलेर फरार भएका थिए। प्रहरीले योजनाकार परियारसहित मोसो दल्ने व्यक्ति दिलिप डाँगी र सहयोगी दिवस क्षेत्रीलाई यसअघि नै पक्राउ गरिसकेको छ।

घटनामा संलग्न भएका अन्य दुई जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। पक्राउ परेकाहरुलाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दाङबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गएिको प्रवक्ता रिजालले बताए।

आरोपितलाई प्रहरीले पक्राउ गर्दै गएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले आजबाट आन्दोलन फिर्ता लिएका छन्। स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएपछि राप्ती प्रादेशिक अस्पतालको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ।