रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

एजेन्सी । क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले इरानका अली दाइले बनाएको कीर्तिमान तोडेर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा आफ्ना नाम लेखाएका हुन् ।

यसअघि कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गरेको हेड मार्फत दुई गोल गरेका हुन् ।

४५ औँ मिनेटमा जोन इगनको हेड गोल मार्फत आयरल्याण्डले सुरुवाति अग्रता लिएको थियो । तर रोनाल्डोले ८९ औँ र इन्जुरी समयको छैटौँ अर्थात ९६ औँ मिनेटमा हेड गोल गरेर टिमलाई जित दिलाए ।

उनले पोर्चुगलका लागि यो खेलमा ११० र १११ औँ गोल गरेका हुन् । अर्थात उनी विश्व फुटबलमा राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस्तै उनी सक्रिय खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । इरानका अली दाइले १०९ गोल गरेर बनाएको कीर्तिमान रोनाल्डोले तोडेका हुन् । कीर्तिमानी गोल गर्नुअघि रोनाल्डोले प्रहार गरेको पेनाल्टी गाविन बाजुनुले रोकेका थिए ।

अली दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि १०९ गोल गरेका थिए । रोनाल्डोल अलीको कीर्तिमानमा युरोकप अन्तर्गत फ्रान्ससँगको खेलको क्रममा दुई गोल गरेर बराबरी गरेका थिए ।

३६ वर्षका रोनाल्डो अहिले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आएका छन् । रोनाल्डो पोर्चुगलबाट १८० खेलमा सहभागी भएका छन् ।