संघीय स्वरुप परिवर्तनका लागि पार्टी लाग्छ भने म नेकपा एसमा जान्छु : वामदेव गौतम


काठमाडौं । नेकपा एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिएका वामदेव गौतमले संघीय स्वरुप परिवर्तनका लागि पार्टी लाग्ने हो भने म नेकपा एसमा जान्छु भनी बनाएका छन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि सर्तहरुसमेत राखेका छन् ।

नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर गौतमले केही दिनअघि आफू पार्टीमा आउनका लागि केही सर्तहरु हुने पनि बताएका छन् ।

उनले आफ्ना चार सर्त राखेको खण्डमा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा समावेश हुनसक्ने संकेत गरेका छन् ।

अर्कोतिर उनीनिकट केही नेताहरुले गौतमले यसलाई बहसको विषय बनाउन खोजेको तर उनी छिट्टै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बताएका छन् ।

‘उहाँ नेकपा एकीकृत समाजवादीमा आउनुहुन्छ,’ ती नेताले भने, ‘तर, एउटा पार्टीमा विचारको बहस हुनुपर्छ भन्ने भएर नै उहाँले सर्तहरु राख्नु भएको हो । यी अहिले भनिएको जस्तो पार्टी प्रवेशकै लागि उहाँका सर्त होइनन्, यी त बहसका विषय हुन् ।’

गौतमले एमालेबाट राजीनामा दिनुअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट पनि गरेका थिए ।

भेटमा उनले नेपालसँग आफ्ना चार सर्त राखेका छन् । तर, नेपालले यसमा उनलाई कुनै जवाफ दिएका छैनन् । गौतमले राखेका सर्तबारे आफूले पार्टीमा छलफल गर्ने नेपालले बताएका छन् ।

गौतमले अहिलेको सुधारिएको संसदीय व्यवस्थालाई परिवर्तन गर्नु पर्ने पहिलो सर्त राखेका छन् । उनले यसलाई परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा एकीकृत समाजवादी तयार हुनु पर्ने सर्त राखेका छन् ।

त्यस्तै, गौतमले अहिलेको निर्वाचन प्रणाली फेरिनु पर्ने पनि सर्त राखेका छन् । उनले अहिलेको निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिक भएकोमा अब समानुपातिक मात्र निर्वाचन प्रणाली राखिनु पर्ने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि गौतमले राखेको अर्को सर्त हो, जबज । जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा एकीकृत समाजवादीले स्वीकार गरेको खण्डमा आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार रहेको गौतमले बताएका छन् ।

त्यस्तै, गौतमले अहिलेको देशको संघीय स्वरुपमा पनि परिवर्तनका लागि पार्टी लाग्नु पर्ने अर्को सर्त राखेका छन् ।